काठमाडौँ । कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेसँगै भेन्टिलेटर र आईसीयूमा राख्नुपर्ने बिरामीको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ६४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। शनिबार एक हजार १७० जनाको परीक्षण गरिएको थियो।
पीसीआर टेस्ट गरिएका १६८ जनामध्ये ४१ जनामा र एन्टिजन टेस्ट गरिएका एक हजार दुई जनामध्ये २३ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ५७ जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या ३५७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, काठमाडौं उपत्यकामा संक्रमण देखिएका बिरामी गम्भीर पनि देखिएका छन्। अहिले पाँच जनाको भेन्टिलेटर र आठ जनाको आईसीयूमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। फेरि कोभिड-१९ संक्रमण बढ्न थालेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।