काठमाडौं । सरकारले आगामी वर्ष २०८० मा सार्वजनिक बिदा दिइएको विभिन्न २४ वटा बिदाका दिनमा पनि सकारी सेवा दिने निर्णय गरेको छ । २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिइएको छ ।
जसमा सार्वजनिक १४, जात्रा ४ र सार्वजनिक दिवस ४ र जन्म जयन्ती २ वटा बिदामा पनि सरकारी सेवा दिने बिहीबार राजपत्रका प्रकाशित वार्षिक बिदासम्बन्धी विवरणमा उल्लेख छ ।
जसमा पर्व बिदाअन्तर्गत मुलुकभरी सार्वजनिक बिदा हुने वैशाख २२ गते राई, लिम्बू, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभौली पर्वचण्डी पूर्णिमा (वैशाख पूर्णिमा) का दिन सरकारी कार्यालयले दिने सेवा सुविधा दिइने भएको छ । यस्तै भदौ १४ गते परेको रक्षाबन्धन, भदौ २० गते परेको श्रीकृष्ण जन्माष्टमी र असोज २८ गते परेको दशैको घटस्थापनाका दिन पनि सरकारी सेवा दिइने उल्लेख छ ।
पुस २५ गते अर्थात डिसेम्बर २५ तारिखका दिन परेको ईसाई धर्मावलम्बीको पर्व क्रिसमस डे, पुस १० गते परेको किराँत समुदायको उधौली पर्व, योमरी पुन्हिज्यापू दिवस (धान्य पूर्णिमा) का दिन सार्वजनिक सेवा प्रवाह हुनेछन् ।
यस्तै पुस १५ गते परेको तमू ल्होसार, माघ १ गते परेको माघी पर्वमाघे संक्रान्ति, माघ २७ गते परेको सोनम ल्होसार, फागुन २५ गते परेको महाशिवरात्री, फागुन २८ गते परेको हिमाली आदिवासी शेर्पाले मनाउने ग्याल्पो ल्होसार, र इस्लाम धर्मावलीमबीको पर्व ईद (इद उल फित्र) का दि र इस्लाम धर्मावलम्बीकै पर्व बकर ईद (ईद उल अजहा) का दिन हुने बिदामा पनि सरकारी सेवा प्रवाह हुनेछन् ।
गृह मन्त्रालयले काठमाडौं उपत्यकालाई मात्र दिने जात्रा बिदा अन्तर्ग भदौ १४ गते परेको गाईजात्रा, असोज ११ गते परेको इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने दिन र चैत २६ गते घोडेजात्रा बिदाको दिन पनि सार्वजनिक सेवा दिइने उल्लेख गरिएको छ । दिवस बिदा अन्तर्गत जेठ १५ गते गणतन्त्र दिवस, फागुन १ गते जनयुद्ध दिवस, फागुन ७ गतेको राष्ट्रिय प्रजातन्त्र दिवस र फागुन २५ गते अर्थात मार्च ८ तारिखका दिन पर्ने अन्तराष्ट्रिय महिला दिवस बिदा पनि सरकारी सेवा प्रवाह हुनेछन् ।
जन्मजयन्त्री बिदा अन्तर्गत वैशाख २२ गते परेको बुद्ध जयन्ती र पुष २७ गते पर्ने पृथ्वीजयन्ती अर्थात राष्ट्रिय एकता दिवसको बिदाका दिन सार्वजनिक सेवा प्रवाह गरिने उल्लेख छ । सार्वजनिक सेवा प्रवाह गर्नका लागि सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक व्यव्सथा मिलाउनुपर्ने उल्लेख छ ।






















