काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते भएको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक तथा गृह मन्त्रालय बीच साउन १४ गते ७ बुँदे सहमति भएको छ । सहमतिपत्रअनुसार सरकालले मृतकपक्षले उठाएका मागहरू न्यायोचित रूपमा सम्बोधन गर्न प्रतिबद्धता जनाएको छ।
सहमतिअनुसार मृतकलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। साथै मृतकका परिवारलाई दश लाख नेपाल सरकारका तर्फबाट उपलब्ध गराइने उल्लेख छ।
त्यस्तै २०८३ साल साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको छ।
सहमतिमा देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयवस्तुहरूबारे आवश्यक छानबिन तत्काल सुरु गर्ने, प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र निष्कर्षहरूलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ।
यस्तै मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ। सहमतिपत्रमा मृतक जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्। साथै आज २ बजे मृतकको अन्तिम संस्कार गर्ने सहमति भएको छ ।


































