काठमाडौं । सरकारले हाल चलिरहेका साझा यातायातलाई नै रुपान्तरण गरी ‘ब्लु बस’ सञ्चालनमा ल्याउने भएको छ । आगामी साउनदेखि सञ्चालन तयारी भइरहेको ब्लु बसका लागि नयाँ गाडी ल्याउने नभई हाल चलिरहेका साझा यातायातलाई नै रङ लगाएर ब्लु बसमा परिर्णत गरिने भएको हो ।
‘सरकारले सञ्चालनमा ल्याउने भनेको ब्लु बस नयाँ गाडी ल्याएर नभई हाल चलिरहेकै साझाका गाडीलाई रुपान्तरण गरेर बनाउने हो,’ साझाका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले भने, ‘यसका लागि सरकार र साझाबीच सैद्धान्तिक सहमति भइसकेको छ । तर, अझै केही प्रक्रियाहरु भने बाँकी छन् ।’
उनले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याउनका लागि आवश्यक खर्च पनि सरकारले नै बेहोर्नेगरी सम्झौता भएको जानकारी दिए । ‘सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा राखेअनुसार साउनबाट ब्लु बस सञ्चालनमा ल्याउने तयारीअनुरुप काम भइरहेको छ,’ अर्यालले भने, ‘यसको तत्कालीन खर्च पनि सरकारले बेहोर्नेगरी नै सम्झौता भएको छ ।’
उनका अनुसार गाडीको रुट र सञ्चालन गर्न लाग्ने अनुमानित खर्चको विवरण सरकारलाई बुझाउने काम भइसकेको छ । अब अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएर आएपछि र आवश्यक अन्य तयारी पुरा गरेपछि ब्लु बस सञ्चालनमा ल्याउने अन्तिम सम्झौता हुनेछ । सो लगत्तै सडकमा ब्लु बस सञ्चालनमा आउनेछ ।
सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । जसअनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र आठ वटा ‘ब्लु बस’ संचालन गर्ने तयारी भएको हो । यद्यपि, गाडीमा रङ लगाउने लगायतका कामहरु समेत बाँकी रहेको अर्यालले जानकारी दिए ।







































