काठमाडौं । राहदानी खरिदसम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । जर्मन कम्पनी मुह्रबाउरका एजेन्ट मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो । यसअघि सोमबार विभागका महानिर्देशक तीर्थराज अर्याल र मंगलबार निर्देशक सुनीलकुमार केसी पक्राउ परेका थिए ।
विशेष अदालतले चार जनालाई नै अनुसन्धानका लागि थुनामा राख्न अख्तियारलाई अनुमति दिएको छ । ‘प्रमाण नष्ट गर्न सक्ने र फरार हुने जोखिम रहेका आरोपितहरूलाई नियन्त्रणमा लिइएको हो,’ अख्तियारका एक अधिकारीले भने, ‘ठेक्का प्रक्रियामा संलग्न प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालयका तत्कालीन उच्च अधिकारीहरूमाथि पनि छानबिन र अनुसन्धान जारी छ ।’
ती अधिकारीले राहदानी खरिद ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा ३५ जनाभन्दा बढीमाथि विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । अर्को जर्मन कम्पनी भेरिडोसका नेपाली एजेन्ट सिद्धार्थ थापा फरार रहेको उनले बताए । ‘त्यस ठेक्कामा संलग्न सरकारी अधिकारी र कम्पनी सम्बद्ध २० जनाभन्दा बढीको बयान भइसकेको छ । अनुसन्धानकै क्रममा ४ जनालाई नियन्त्रणमा लिएर बयान लिइँदै छ,’ उनले भने ।
प्रारम्भिक अनुसन्धानमा राहदानी खरिद ठेक्कामा करिब ८ अर्ब रुपैयाँ अनियमितता भएको दाबी अख्तियारले गरेको छ । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले भने सोधपुछ र अनुसन्धानमा पक्राउ परेकाहरूका विषयमा आफूलाई सबै थाहा नहुने दाबी गरे । ‘सोधपुछ र अनुसन्धानका लागि अरू को–को पक्राउ परे, के–केमा अनुसन्धान भइरहेको छ, अनुसन्धान अधिकृतलाई मात्रै थाहा हुने विषय हो,’ उनले भने ।



































