काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको महत्त्वपूर्ण खेलमा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। सन् २०२७ को एकदिवसीय विश्वकप छनोटको यात्रा तय गर्न दुवै टोलीका लागि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल निकै अर्थपूर्ण छ। नेपाली समयअनुसार बिहान ९ः३० बजेदेखि खेल सुरु हुनेछ।
यस प्रतियोगिताको अन्त्यमा अङ्क तालिकाको शीर्ष चारमा रहने टोलीहरूले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान पक्का गर्नेछन्। बाँकी टोलीले भने प्ले–अफको कठिन बाटो पार गर्नुपर्नेछ।
उत्कृष्ट लयमा रहेको अमेरिका अङ्क तालिकाको शीर्ष स्थानमा छ। सुरुवाती विदेशी शृङ्खलाहरूमा सङ्घर्ष गरेको नेपालले घरेलु मैदानमा सानदार पुनरागमन गर्दै आफूलाई पाँचौँ स्थानमा उकालेको छ।
आज मैदानमा उत्रँदा दुवै टोली उच्च मनोबलमा हुनेछन्। आफ्नो पछिल्लो खेलमा दुवैले स्कटल्यान्डमाथि ६ विकेटको सानदार जित निकालेका थिए।
मे १८ मा भएको खेलमा ललित राजवंशी (४ विकेट) र सन्दीप लामिछाने (३ विकेट) को घातक बलिङले स्कटल्यान्डलाई १९४ रनमा रोकेको थियो। कप्तान रोहित पौडेलको अविजित ७४ रनको कप्तानी इनिङ्सको मद्दतले नेपालले उक्त लक्ष्य ३९ ओभरमै पूरा गरेको थियो।





































