काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानका सात वटा ‘फास्ट बोट’ भनिने डुंगाहरुमा आक्रमण गरेको बताएका छन् । ट्रम्पले भनेका छन्, ‘हामीले सात वटा साना डुङ्गा (उनीहरूले फास्ट बोट भन्ने गरेका छन्) लाई ढालेका छौं । उनीहरूसँग अब यही मात्रै बाँकी छ ।’
प्रायः बन्दजस्तै बनेको यस जलमार्गबाट अलपत्र परेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेका बेला अमेरिकाले इरानका डुंगाहरुमाथि आक्रमण गरेको जनाएको हो । अमेरिकाले ‘प्रोजेक्ट फ्रिडम’ अभियान अन्तर्गत इरानी बोटहरुमा आक्रमण गरेको थियो ।
अमेरिकी सेनाले हेलिकप्टर प्रयोग गरेर ती डुङ्गामा आक्रमण गरेको जनाएको छ । तर इरानले भने अमेरिकी आक्रमणको प्रचार पूर्णरुपमा गलत भएको जनाएको छ । यसबीचमा अमेरिकी झण्डावाल एक जहाज स्ट्रेट अफ होर्मुज पार गर्न सफल भएको जनाइएको छ । एक ढुवानी कम्पनी मर्स्कका अनुसार, उसको अमेरिकी झण्डावाला एउटा जहाज अमेरिकी सैन्य सुरक्षा अभियान मार्फत सफलतापूर्वक स्ट्रेट अफ होर्मुज पार गर्न सफल भएको हो । ‘एलायन्स फेयरफ्याक्स’ नामक सो जहाज फेब्रुअरीदेखि खाडी क्षेत्रमा अलपत्र थियो ।
मर्स्कले आफ्नो व्यावसायिक जहाजको यात्रा कुनै अवरोध बिना सम्पन्न भएको र सबै चालकदल सुरक्षित रहेको जनाएको छ ।

































