बागलुङ । बागलुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । कुश्मा नगरपालिकाको ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरुङ सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको हो ।
विशेष अदालतमा मुद्दा दायर भएपछि हाल बागलुङका प्रमुख जिल्ला अधिकारी समेत रहेका गुरुङ निलम्बित भएको छन् । आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरुङ, लेखा अधिकृत कृष्णप्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य र निर्माण व्यवसायी लालबहादुर मल्लविरुद्ध आरोपपत्र दायर गरेको हो ।
कुश्मा नगरपालिका–७ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनको काम अलपत्र पारी ठेकेदार र कर्मचारीको मिलेमतोमा १ करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारको विशेष अनुदान अन्तर्गत विनियोजित बजेटबाट भवन निर्माणका लागि मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग ९६ लाख ३० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
तर, निर्माण व्यवसायीले काम नै नगरी अलपत्र पारेको अवस्थामा पनि कर्मचारीसँगको मिलेमतोमा भुक्तानी लिएको पाइएको छ । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार काम नसकी सम्पर्कविहीन भएका ठेकेदारको बैंक जमानत जफत गर्नुपर्नेमा म्याद गुज्रिन दिई उल्टै थप भुक्तानी दिइएको थियो ।
साथै, पुरानो ठेक्काबाट असुल गर्नुपर्ने रकम असुल नगरी सोही कामका लागि नयाँ ठेक्का लगाएर राज्यलाई दोहोरो दायित्व सिर्जना गराई नोक्सानी पु¥याएको अनुसन्धानबाट खुलेको छ ।





































