काठमाडौं । जारी नेपाल प्रिमियर लिगमा आजको खेलमा जनकपुर बोल्ट्सलाई कर्णाली याक्सले तीन रनले पराजित गरेको छ । प्लेअफ चरणबाट बाहिरिसकेका दुवै टोलीको लिग चरणमा अन्तिम खेल हो । एक/एक खेल मात्र जितेका दुवै टिमका लागि आजको खेल को अन्तिममा पर्ने भन्ने थियो । कर्णालीले जितेसँगै जनकपुर सिजनको पुछारको टिम बनेको छ ।
पहिले ब्याटिङ गर्दै कर्णालीले दिएको १३० रनको झिनो लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन ।
अन्तिम ओभरको पहिलो बलमा नन्दनको योर्करमा अगाडितर्फ सर्ट लगाउन खोज्दा गुल्शन झाबाट क्याचआउट भए । यस्तै, संगीत कोरीले २५ रन बनाउँदा, माज सदाकतले १२ र निकोललफ्टी इट्टनले १३ रन बनाए । आशिफ शेख र अनिल साह शून्य रनमै आउट भए । आशिफले केही खेलमा रन बनाए पनि अनिल साह भने यो सिजन अवधिभर नै फ्लप रहे ।
कर्णालीका लागि ४ ओभरमा १८ रन खर्चिँदै विल बोसिस्टोले २ विकेट लिँदा मार्क वाट, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले एकरएक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेट गुमाउँदै १२९ रन मात्र बनाएको थियो । कर्णालीका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाउँदा प्रियांक पांचालले १६, गुलश्न झाले १९, विल बोसिस्टोले १५, नजिबुल्लाह जार्दानले १३ र सोमपाल कामीले अविजित १८ रन बनाए । बलिङमा जनकपुरका ललित राजवंशी र आदित्या महेताले २-२, अनिल शाह, संगीत कोरी र माज सदाकदले एकरएक विकेट लिए । यो सँगै लिग चरणका सबै खेल सकिएका छन् । गत वर्षको तेस्रो स्थानमा रहेको कर्णाली यसपटक मात्र २ खेलमा जितसहित चार अंकसहित ६ नम्बरमा रहेको छ । यस्तै दुई खेल नै जितेको चितवन राइनोज सातौं र डिफेन्डिङ च्याम्पियन जनकपुर यस सिजनमा आठौं अर्थात अन्तिममा रहेको छ । पोखरा एभेन्जर्स भने तीन जितसहित पाँचौं नम्बरमा छ ।
१२ अंकसहित पहिलोमा सुदूरपश्चिम रोयल्स, १० अंक बटुलेको विराटनगर किंङ्स दोस्रो, १० अंक नै रहेको काठमान्डु गोर्खाज तेस्रो र ९ अंकसहित लुम्बिनी लायन्स चौथो नम्बरमा रहेको छ ।

































