काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का र विमलेन्द्र निधिले आइतबार बिहान प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका उनीहरुबीच सरकार गठनबारे छलफल भएको हो ।
निधिले माओवादी अध्यक्ष प्रचण्डसँग पहिलो चरणमा सरकारको नेतृत्व कांग्रेसलाई छाड्न आग्रह गरेका थिए । तर प्रचण्डले भने पहिलो चरणमा आफूले नेतृत्व गर्न पाउनु पर्ने पुरानै अडान दोहोर्याएका थिए । छलफलमा प्रचण्डले ‘सबै पद आफैँ राख्ने भए आ-आफ्नो बाटोतर्फ लाग्ने’ सुझाएका प्रचण्ड निकट स्रोतले बताएको छ ।
उता माओवादी केन्द्रका शक्ति बस्नेतलगायतका दोस्रो तहका नेता एमालेसँग वार्तामा रहेका छन् ।
सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समयसीमा आज सकिँदै गर्दा दलहरुबीच रस्साकसी चलेको छ । सोही कारण आज बिहान १० बजे बस्ने भनिएको गठबन्धनको बैठक अहिलेसम्म पनि बस्न सकेको छैन ।



































