काठमाडौं । उपत्यका तीन जिल्ला (काठमाडौं भक्तपुर र ललितपुर)को सुरक्षा सुदृढीकरण गर्न भनेर प्रहरी प्रधान कार्यालयले ८ सेक्टर बनाएर छ । काठमाडौं उपत्यकालाई ८ वटा सेक्टरमा विभाजन गरेर त्यहाँ छुट्टाछुट्टै कमाण्डर पठाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अपरेशन समन्वय गर्न भनेर एसपी पवन भट्टराईलाई जिम्मेवारी दिइएको छ । उनलाई पाल्पाबाट काठमाडौँ झिकाइएको हो ।
काठमाडौं उपत्यकामा प्रत्येक सेक्टरको नेतृत्व एसपीहरूले गरेका छन् । एसपीहरू दिपक श्रेष्ठ, पवन भट्टराई, कवित कटुवाल, रामेश्वर पौडेल, रुगम कुँवर, डिबी मल्ल, केशव भट्टराई र बालनसिंह राणालाई उपत्यकाको सुरक्षा सुदृढीकरणमा समन्वय गर्ने गरी परिचालन गरिएको छ ।
एसपी दिपक श्रेष्ठलाई कालीमाटी, कीर्तिपुर र थानकोट क्षेत्रको जिम्मेवारी दिइएको छ । एसपीद्वय कवित कटुवाललाई सातदोबाटो क्षेत्र र रामेश्वर पौडेललाई दरबारमार्ग, सोह्रखुट्टे तथा जनसेवा क्षेत्रमा जिम्मेवारी दिइएको छ ।
रुगम कुँवरलाई बानेश्वर र सिंहदरबारमा खटाइएको छ । डिबी मल्ललाई बालाजु र स्वयम्भु तथा केशव भट्टराईलाई गौशाला र बौद्धमा खटाइएको छ । बालनरसिंह राणालाई महाराजगञ्ज र मालिगाउँमा खटाइएको छ ।

































