काठमाडौं । वाईसीएलको केन्द्रीय सदस्यमा नाम फेरबदल भएपछि वाईसीएल काठमाडौं जिल्लाले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको छ । केन्द्रीय सदस्यमा नाम सिफारिस भई अन्तिम समयमा फेरबदल भएपछि काठमाडौं जिल्लाले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको हो ।
वाईसिएल काठमाडौंका अध्यक्ष रूपेश दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-‘दशवर्षे जनयुद्धदेखि विभिन्न आन्दोलनमा अग्रसर रहेका काठमाडौँका युवाहरूले संगठनमा योगदान पुर्याए पनि उनीहरूको त्याग र योगदानको सम्मान नगरी मनोमानी ढंगले नामावली परिवर्तन गरिएको हो ।’
“निर्वाचन मण्डल समक्ष बुझाइएको नामावलीको खिल्ली उडाउँदै अपारदर्शी तरिकाले नयाँ नाम समेटिएकोले हामी उक्त नामावलीमा असहमति जनाउँदै सपथग्रहण समारोहमा सहभागी हुन अस्वीकार गरेका छौं,” वक्तव्यमा उल्लेख गरिएको छ।
वक्तव्यमा भनिएकाे छ- ‘यस प्रकारको अन्यायपूर्ण र अव्यवस्थित कार्यशैलीले काठमाडौंका समस्त युवा कमरेडहरूको भावनामा गम्भीर ठेस पुगेको छ। यो केवल काठमाडौं जिल्लाको मात्र होइन, संगठनकै अनुशासन र मूल्यप्रति ठूलो चुनौती हो।’
काठमाडौंले केन्द्रीय नेतृत्वलाई चुनावी प्रक्रिया र संगठनको आन्तरिक संरचनाप्रति इमानदार बन्न आग्रह गर्दै कानुनी र संगठनात्मक कदम चालिने चेतावनीसमेत दिएको छ।


































