काठमाडौं । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ ।
नेपाल सरकारले चालु आर्थिक वर्षमा बजेटको लक्ष्यको करिब ८० प्रतिशत आन्तरीक ऋण परिचालन गरिसक्दा पनि प्रणालीमा लगातार अधिक तरलता भएपनि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दै आएको छ ।
राष्ट्र बैंकले २१ दिनको अवधिका लागि यो रकम संकलन गर्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकिएको छ। बोलकबोलमा सहभागी हुन सक्ने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा भने पाँच करोडको गुणनफलमा हुने गरी कुल आह्वान रकमसम्म रहने व्यवस्था गरिएको छ।
साँवा तथा ब्याज भुक्तानी आगामी जेठ २५ गते तोकिएको छ । यसमा लाग्ने ब्याजदर पनि बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ। राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन उपकरण बहु(ब्याजदर प्रणालीमा सञ्चालन हुनेछ, जसअनुसार सहभागी संस्थाहरूले विभिन्न दरमा बोलकबोल गर्न सक्नेछन्।
उक्त बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
चालु आर्थिक वर्षको फागुनसम्म अपेक्षित कर्जा विस्तार नभएपनि पछिल्लो २ वर्षको तुलनमा सुधारउन्मुख देखिन्छ । तर, अधिक तरलता कायम भएपछि निरन्तर केन्द्रिय बैंकले तरलता प्रशोचन गर्दै आएको छ ।
चालु आर्थिक वर्षको सुरुवातमा करिब साढे ३ खर्ब तरलत केन्द्रिय बैकंकले निरन्तर खिच्दै आएको थियो । पछिल्लो केही समयमयता करिब २ खर्ब २० अर्ब तरलता केन्द्रीय बैंकले प्रशोचन गरेर बक्यौता रहँदै आएको छ ।






































