काठमाडौं । काठमाडौंको बागबजारस्थित गेस्ट हाउसमा मृत फेला परेकी नुवाकोटकी २८ वर्षीया विमला तामाङको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा धादिङस्थित गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरेको छ । गत वर्ष चैत २९ गते तामाङको शव गेष्ट हाउसभित्र सढेगलेको अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार पन्तलाई मंगलबार साँझ नागढुंगाबाट नियन्त्रणमा लिइएको हो । प्रहरी अनुसन्धानमा पन्त भारतीय भूतपूर्व (भूपू) सैनिक रहेको र उनले अहिले पेन्सन लिँदै आएको तथ्य खुलेको छ ।
प्रहरीका अनुसार पन्त र तामाङ दुवै विवाहित हुन् । तर, उनीहरू लुकीछिपी अवैध सम्बन्ध राख्दै आएका थिए । पन्तले उक्त कुरा आफ्नी श्रीमतीलाई र तामाङले आफ्ना श्रीमानलाई बताएका थिएनन् ।
केही समयअघि तामाङ घर छाडेर हिँडेको र परिवारले हराएको भन्दै प्रहरीमा समेत जानकारी गराएका थिए ।

































