काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई तेस्रोपटक जवाफ पठाएका छन् । कुलमानलाई स्पष्टीकरण सोध्न मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा ऊर्जामन्त्री दीपक खड्काले शुक्रबार सोधेको ४ बुँदे स्पष्टीकरणको जवाफ कुलमानले १७ पृष्ठमा फर्काएका हुन् ।
उनले राष्ट्र सेवक (कर्मचारी) उपर गरिने विभागीय प्रकृतिको कारवाही गर्न सक्ने अधिकारीले निष्पक्ष र स्वतन्त्र विवेकको आधारमा गर्नुपर्ने भन्दै आफूसँगको सम्झौतापत्र र नियुक्ति रद्द गर्नसक्ने प्रकृया प्रष्ट हुँदाहुँदै पनि प्रकिया र विधि पूरा नगरी भएको कारवाही प्रकृियामा गम्भीर कानूनी र प्रकृियागत त्रुटि रहेको जिकिर गरेका छन् ।
उनले यसअघि पनि सेवाबाट किन नहटाउने भनी ऊर्जामन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेको अवस्थामा पुनः सोही बमोजिमको कारवाही गर्न सोही मन्त्रालयको प्रस्ताव एवम् सिफारिसमा स्पष्टीकरण माग गर्न नमिल्ने बताएका छन् ।
‘एउटै व्यक्ति उपर एउटै विषयमा राज्यको विभिन्न निकायबाट पटक पटक कारवाही प्रकृया अगाडी बढाइनु प्राङन्याय र नेपालको संविधानको धारा २० समेतको प्रतिकुल छ । आरोप कसले लगायो भन्ने विषय नभई एउटै व्यक्ति उपर एउटै विषयमा आरोपित गरिएको हो वा होइन भन्ने विषय गम्भीर कानूनी प्रश्न मानिन्छ’, उनले जवाफमा लेखेका छन् ।
मन्त्री खड्काले आफूलाई अत्यन्त पूर्वाग्रहका साथ कारवाहीको सिफारिस गरेको प्रसंग निकाल्दै कुलमानले लेखेका छन्, ‘प्रस्तुत कारवाहीको विषयमा नेपाल सरकार मन्त्रिपरिषदबाट बस्तुगत ढंगले विश्लेषण गरी निष्पक्ष र विवेकपूर्ण निर्णय गरी राष्ट्रलाई ऊर्जा क्षेत्रमा सार्थक योगदान दिएको निष्ठावान राष्ट्रसेवकलाई थप अन्याय र प्रताडित हुन नपर्ने गरी एवम् आम नेपाली नागरिकलार्इ समेत सकारात्मक सन्देश दिने गरी निर्णय हुने अपेक्षा गरेको छु ।’





















