तीर्थबहादुर तामाङलाई तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि

काठमाडौँ- तीर्थबहादुर तामाङले तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन् । आइतबार आयोजना भएको १७ औं म्याराथन तामाङले ३ घण्टा ५१ मिनेट ०९ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् ।

नेपालकै राजकुमार राजभण्डारी ३ घण्टा ५१ मिनेट ३९ सेकेन्डमा सो म्याराथन पुरा गर्दै उपविजेता भए । ३ घण्टा ५३ मिनेट १० सेकेन्डमा निर्धारित दूरी तय गरेका अर्का नेपाली सुमन कुलुङले तेस्रो स्थान प्राप्त गरे । 

विदेशीतर्फ स्विट्जरल्यान्डका बर्नहाड जिन्जरले ५ घण्टा ५१ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान प्राप्त गरे । रोमानियाका डार्गोस मुन्टियानुले ६ घण्टा १ मिनेट २० सेकेन्ड तथा बेलायतका बेन्जामिन सिन्क्लेयरले ६ घण्टा २१ मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गरेर क्रमशः दोस्रो तथा तेस्रो स्थान हासिल गरे ।

महिलातर्फ खुला म्याराथनमा नेपालकी पुर्णिमाया राईले पाँच घण्टा १९ मिनेट १५ सेकेन्डको टाइमिङका साथ पहिलो स्थान हासिल गर्दा नेपालकै अमलधानी राई पाँच घण्टा ३९ मिनेट ०१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरिन ।

नेपालकै सेविका राईले पाँच घण्टा ४४ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गरिन् ।

त्यस्तै खुला हाफ म्याराथनमा जर्मनीकी भेरिना स्लिमेइरर तीन घण्टा ६ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी तय गर्दै पहिलो हुँदा रोमानियाकी एलिना फेर्तु तीन घण्टा २८ मिनेट १७ सेकेन्डको टाइमिङका साथ दोस्रो भइन । 

यही विधामा तेस्रो स्थान भने जर्मनीका पुरुष धावक डाइटमार स्टुवले हासिल गरे । उनले तीन घण्टा ३० मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । 

तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिन मे २९ को अवसरमा प्रत्येक वर्ष आयोजना सो म्याराथन आयोजना हुने गर्दछ । सो म्याराथन सगरमाथा आधार शिविरबाट सुरु भएर नाम्चे बजारमा आएर सम्पन्न हुन्छ ।  

यस्तै, एभरेष्ट एक्सट्रिम ६० किलोमिटर अल्ट्रा दौडको शीर्ष तीन स्थानमा पनि नेपाली धावक नै कायम रहे ।

अर्जुन राई कुलुङ सात घण्टा चार मिनेट ३५ सेकेन्डको टाइमिङका साथ च्याम्पियन हुँदा गोपाल तामाङले सात घण्टा ३९ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी तय गर्दै दोस्रो भए । त्यस्तै दुर्गाराज बुढाले सात घण्टा २९ मिनेट ३३ सेकेन्डको टाइमिङका साथ तेस्रो स्थान हासिल गरे । 

एक्सट्रिम अल्ट्रा ६० किलोमिटर दौड, खुला म्याराथन र महिला खुला म्याराथनका विजेताले समान एक लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेताले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ पाए ।

यसैगरी विदेशीतर्फको म्याराथन र हाफ म्याराथनका विजेताले जनही ५० हजार, उपविजेताले जनही ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गरे ।

मुख्य विधा एभरेष्ट म्याराथनको उपाधि जितेका तीर्थ तामाङले यो विश्वको सबभन्दा बढी उचाइमा हुने म्याराथनमा भएकाले आफू निक्कै उत्साहित रहेको बताए । 

‘विश्वकै सबभन्दा धेरै उचाइमा हुने भएकाले यहाँ दौडिनु निक्कै कठिन थियो । तथापि यहाँ दौडँदा मैले रमाइलो महसुस गरेँ,’ उनले भने, ‘उपाधि जित्न सक्दा म झन खुसी छु ।’

विदेशीतर्फका विजेता जिन्जरले पनि रुट अत्यन्तै कठिन भए पनि आफूले त्यसको भरपुर मज्जा लिएको प्रतिक्रिया दिए । 

यसैगरी हाफ म्याराथनकी च्याम्पियन भेरेनाले फुल म्याराथन दौडिने चाहना भए पनि हाफ म्याराथनमात्र दौडिएको बताइन । उनले उत्कृष्ट प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै विजेता बन्दा गौरवान्वित बनेको बताइन । 

विदेशीतर्फका उपविजेता ड्रागोस मुन्टेनाउले अहिलेसम्म सहभागिता जनाएकामध्ये यो सबभन्दा कठिन म्याराथन भएको बताए । ‘मैले यहाँ दोस्रो हुन सक्छु भन्ने ठानेको थिइँन, तर भएँ, खुसी छु,’ उनले भने । 

एक सय २७ विदेशी तथा ६६ नेपाली गरी कुल एक सय ९३ जना धावकको सहभागिता रहेको प्रतियोगितामा विदेशीतर्फ सबभन्दा धेरै बेलायतबाट ३३ तथा अमेरिकाबाट १८ धावकले भाग लिएका थिए ।

त्यसैगरी फुल म्याराथनमा १ सय ५४ जना, एक्सट्रिम अल्ट्रामा १५ जना र हाफ म्याराथनमा २१ जनाको सहभागिता थियो । 

प्रतियोगिता जलवायु परिवर्तनविरुद्ध तथा कस्तुरी मृग संरक्षणको अभियानका लागि गरिएको आयोजक हिमालय एक्सपिडिसनका प्रमुख एवं एभरेष्ट म्याराथनका परिकल्पनाकार विक्रम पाँडे काजीले जानकारी दिए । 

‘माओवादी द्वन्द्वका बेला नेपाली पर्यटन ओरालो लागिरहेको बेला खेलकुदमार्फत पर्यटनको पुनस्थापनका लागि हामीले यो प्रयास थालेका थियौं । अहिले पनि कोभिड १९ को महामारीबाट थलिएको पर्यटनलाई पुरानै लयमा फर्काउन यो म्याराथनले अहम भूमिका निर्वाह गर्ने हामीले विश्वास लिएका छौं,’ पाँडे काजीले भने, ‘नेपालमा साहसिक पर्यटनको प्रवद्र्धनमा मानक बनिसकेको यो प्रतियोगिताले विश्व मानचित्रमा देशलाई चिनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।’

कार्यक्रममा नेपालका लागि बेलायती राजदुत निकोला पोलिट, अमेरिकी दुताबासका डेपुटी चिफ अफ दी मिसन म्यानुअल पी मिकालर जुनियर, अस्ट्रेलियन हिमालयन फाउन्डेसनका निर्देशक पिटर कन्सेललगायतले प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्नुका साथै वातावरण प्रवद्र्धनका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज परिसरमा गुराँसका विरुवा वृक्षरोपण गरेका थिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित