सर्लाही । बालिका बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ नगरेको भन्दै सर्लाहीको हरिवन ९ दनुवारीका बासिन्दा आन्दोलनमा उत्रिएका छन्।
एक साताअघि स्थानीय ५५ वर्षीय नारायण गौतमले गाउँकै ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। तर पनि प्रहरीले गौतमलाई पक्राउ नगरेको पीडित पक्षको गुनासो छ।
यता इलाका प्रहरी कार्यालय (हरिवन) का प्रहरी निरीक्षक शिवराम थापाले भने घटना सार्वजनिक हुनासाथ गौतम फरार भएकाले पक्राउ गर्न नसकिएको बताएका छन्।
आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गर्दै पीडित पक्ष र स्थानीय बासिन्दाले बुधबार र बिहीबार दुई दिन नयाँरोडस्थित पूर्वपश्चिम राजमार्गमा चक्काजामसमेत गरेका छन्।
गत फागुन २५ गते गौतमले गाउँकै ११ वर्षीया बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोप छ। पीडित परिवारले गौतमविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा किटानीजाहेरीसमेत दिएका छन्। प्रहरीले गौतमविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ।

































