बुर्तिबाङ । पाँच दलिय गठबन्धनका साँझा उम्मेदवार चन्द्र अर्यालले नगरपालिकाको विकासका लागि गठबन्धन भएको बताएका छन् ।
बिहीबार ढोरपाटन नगरपालिका– ३ पुर्काट र घोँसाखानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अर्यालले नगरपालिकामा भइरहेको मनोमानी, बेतिथि र विकृत्ति अन्त्यका लागि गठबन्धन बनाएर निर्वाचनमा होमिएको बताएका हुन् ।
गठबन्धन विगत दुई बर्ष पहिलेदेखि निर्माण भएको बताउँदै विकास, समृद्धि र जनताको आवश्यकता परिपूर्तिका निम्ति आफूहरू साझा उम्मेदवारको रूपमा जनतामाझ आएको बताएका छन् । उनले जनमतलाई अपमान हुने गरी कहिल्यै काम नगर्ने प्रतिबद्धतासमेत जनाएका हुन् ।
गाउँका जनताको आवश्यकता धेरै भएपनि स्थानीय सरकार आएपछि हुनुपर्ने विकास र आधारभूत समस्या सम्बोधन हुन नसकेका कारण यस पटकको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अर्यालले आग्रह गरे ।
आयोजित कार्यक्रममा उपमेयर पदका उम्मेदवार धनबहादुर कायत कल्याणले गठबन्धन सत्ता र स्वार्थका लागि नभई ढोरपाटन नगरको बेतिथि विरुद्ध भएको बताए ।
जनताको सामाजिक आवश्यकता परिपूर्तिको निम्ति गठबन्धन भएको बताउँदै पारदर्शिता, विधि, पद्धती र जनताको प्रत्यक्ष सरोकार राख्ने समस्यासँग जोडिएर काम गर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला उपाध्यक्ष सागर छन्त्याल, नेता तुल्सीराम अर्याल, दधिराम शर्मा, निलबहादुर पुन, एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष केशर छन्त्याल, जनता समाजवादी पार्टीका ढोरपाटन नगर अध्यक्ष गंगाबहादुर घर्ती, राजमो केन्द्रिय सदस्य गौरीश्वर पाण्डेलगायत नेताहरुको सम्बोधन रहेको थियो ।












































