राेशन थापा मगर, बागलुङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका बागलुङको बडिगाड गाउँपालिकामा अध्यक्ष पदका लागि साझा गठबन्धनका रुपमा नेपाली काँग्रेसबाट गण्डकी थापा अधिकारीले उम्मेदवारी दिएकी छन् ।
बागलुङका १० वटा स्थानीय तह मध्ये बडिगाड गाउँपालिकामा अध्यक्ष पदमा जिल्लामै पहिलो महिलाको रुपमा अधिकारी उम्मेदवार दिएकी हुन् ।
बडिगाड गाउँपालिकामा बनेको ५ दलीय गठबन्धनबाट थापा महिला अध्यक्षको रुपमा साझा उम्मेदवार बनेकी हुन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव समेत रहेकी उनले आफुलाई योग्य ठानेर पार्टीले उम्मेदवारी दिएको भन्दै बडिगाड गाउँपालिकामा नेपाली काँग्रेसको जित सुनिश्चित रहेको दाबी गरिन् ।
अधिकारीले बडिगाड गाउँपालिकालाई नमुना पालिका बनाउन आफुले उम्मेदवारी दिएको बताएकी छन् । ‘महिलाले नेतृत्व गरेका पालिकाहरु देशकै उत्कृष्ट पालिका बनेका उदाहरणहरु हामीमाझ प्रशस्तै छन् उनले भनिन्, ‘बडिगाड गाउँपालिकालाई पनि अब महिला नेतृत्वले सम्हाल्ने र नमुना पालिका बनाउने प्रण गरेकी छु ।’
आफूले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास प्रमुख प्राथमिकतामा राखेको उनको भनाई छ । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार भयो भने अरु नियमित विकासका कामहरु त स्वतः हुन्छ उनले भनिन्, ‘प्रमुख ध्येय भनेको सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय एवम् प्राविधिक शिक्षा नै हो ।”
त्यस्तै महिलाहरुलाई आयआर्जनसँग जोड्न विभिन्न घरेलु उद्योग एवम् सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने,निम्न आय भएका परिवारहरुलाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने र जनमुखी कामहरु आफुले प्रमुख प्राथमिकतामा राखेको उनले बताइन् ।
आफुले निर्वाचन जितेमा एउटा राज्यको साझा प्रतिनिधिको रुपमा काम गर्ने र राजनैतिक आग्रह वा पूर्वाग्रह राखेर गरिने विभेद विरुद्ध प्रतिकार गर्ने समेत उनको भनाई छ । त्यस्तै सबै वर्ग, समुदाय, सम्प्रदाय र लिगंलाई समान अवसर दिँदै सहभागीतामूलक प्रतिनिधित्व हुने गरी आफु अगाडी बढने अधिकारीले बताइन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिका धुँवाखर्कमा २०३७ सालमा थापाको जन्म भएको हो । सानैदेखि सामाजिक र राजनैतिक वातावरणमा हुर्किएकी थापाले २०५४ सालमा शान्तिपुरको उदय उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तिण गरिन् । वैवाहिक जीवनमा बाँधिएर बागलुङको बडिगाड गाउँपालिका ७ भिमगिठे आएकी उनले उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङबाट उच्च शिक्षा,निशिभुजी जनता क्याम्पसबाट ब्याचलर र तानसेन बहुमुखी क्याम्पसबाट मास्टर्सको अध्ययन पुरा गरेकी छन् ।
यसबीचमा अध्यापनमा समेत सक्रिय उनले २०७४ सालमा शिक्षण पेशाको स्थायी जागिर छाडेर गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएकी थिइन् । विद्यार्थीकालबाटै सांस्कृतिक सघं,नेपाल विद्यार्थी सघं लगायतका भातृ संस्थामा आबद्ध रहेर काम गरेकी उनी सानैदेखि प्रखर वक्ताको रुपमा परिचित छिन् ।
२०५४ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएकी उनले नेपाल महिला सघं बागलुङको उपाध्यक्ष भएर २ कार्यकाल काम गरिसकेकी छन् । त्यस्तै नेपाली कांग्रेसको १२ औँ महाधिवेशनबाट पार्टीको जिल्ला सहसचिव,१३ औँ महाधिवेशनमा जिल्ला सदस्य,१४ औँ महाधिवेशनमा प्रतिनिधि हुँदै जिल्ला सचिवको रुपमा हाल कार्यरत रहेकी छन् ।
२०५४ साल देखि २०६३ पौषसम्म अस्थायी शिक्षण पेशा गर्दै आएकी उनी २०६३ सालदेखि २०७४ सालसम्म स्थायी शिक्षण पेशा गर्दै गर्दा शिक्षण पेशाबाट राजीनामा दिएर २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा उम्मेदवारी दिएकी थिइन् ।
यसबाहेक अधिकारीले विभिन्न सामाजिक क्षेत्रमा तथा संघसंस्थामा पनि आबद्ध रहेर क्रियाशिल हुँदै आएकी छन् । जिल्लामा हुने विभिन्न बाढी,पहिरो लगायतका प्राकृतिक विपत्तिहरुमा उद्धार तथा राहत वितरण,कोरोना महामारीमा विभिन्न सामाजिक सघंसंस्थाको पहलमा स्वास्थ्य सामाग्री वितरण गर्ने,रेडक्रस मार्फत विभिन्न दैविप्रकोपहरुमा सहयोग गर्ने तथा सडक महिलाहरुलाई उद्धार गर्ने कार्य सक्रिय रहँदै आएकी छन् ।
उनी नेपाल रेडक्रस सोसाईटीको २ कार्यकाल सहमहामन्त्री,सिवाईसी साकोसको केन्द्रीय उपाध्यक्ष,चारतारे युवा क्लवको सहसचिव,नेपाल शिक्षक युनियनको जिल्ला सदस्यमा रहेर काम गर्दै आएकी छन् ।







































