काठमाडौं । पोखराको फेवातालमा १८ राउन्ड गोली भएको अवस्थामा अत्याधुनिक हतियार एसएलआर राइफल फेला परेको छ।
फेवाताल किनारमा बस्ने स्थानीय कुमार जलारीले माछा मार्न थापेको जालमा उक्त हतियार अड्किएर आएको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार एसएलआर राइफलसँगै १८ राउन्ड गोली लोड गरिएको म्यागजिन पनि फेला परेको छ। फेवातालमा भेटिएको उक्त हतियार दर्ता भएको देखिए पनि कसको नाममा दर्ता हो भन्ने विषय भने अहिलेसम्म खुल्न नसकेको डिएसपी बस्नेतले बताए।
जालमा परेको एसएलआर राइफलको दर्ता नम्बर १११ रहेको र बडी नम्बर १३८१० लेखिएको छ। हतियार कसको हो भन्नेबारे पुष्टि गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाइएको उनले जानकारी दिए। उक्त हतियार कसको हो भन्ने खुलेपछि कसरी फेवातालमा पुग्यो भन्ने विषयमा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।


































