निक्षेपको ब्याजदर घटाउँदै बैंक, माघमा कुन बैंकको ब्याजदर कति ?
काठमाडौं । माघका लागि पनि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । बैंकहरूमा निक्षेप लगातार बढिरहेको छ । तर, कर्जाको मागमा सुधार हुन नसक्दा अधिक तरलताको चाप लगातार बढ्दै जाँदा बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर लगातार घटाउँदै लगेका छन् ।
२० वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत नै ४.६८ प्रतिशतमा झरेको छ । पुसमा यस्तो औसत ४.८५ प्रतिशत रहेकोमा पुसको तुलनामा माघमा ०.१६ प्रतिशत बिन्दुले घटेको हो ।
२० मध्ये १२ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । बाँकीले यथावत राखेका हुन् । वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत नै ४.६८ प्रतिशतमा सीमित भएको छ ।
नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्न स्थायी निक्षेप सुविधाको लागि बचतको न्यूनतम ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरभन्दा कम दिने बैंकले उक्त सुविधा नपाउने व्यवस्था गरेको छ । सोही कारण बैंकहरूले बचतको ब्याजदर घटाउन पाएका छैनन् । सोही कारण कोषको लागत कम गर्न मुद्दती निक्षेपको ब्याजदर नै घटाउँदै लगेका हुन् ।
कसको कति ?
माघका लागी ११ बैंकले ब्याजदर घटाएका छन् भने ८ बैंकले पुस महिनाको ब्याजदरलाई नै निरन्तरता दिने भएका छन् । माघ महिनामा प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको छ ।
माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४.४० प्रतिशत, एभरेष्ट बैंकले ४.४० प्रतिशत, कुमारी बैंक ४.४३ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.४० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत, सिटिजन्स बैंकले ४.५० प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.३६ प्रतिशत, हिमालयन बैंकले ५ प्रतिशत र सानिमा बैंकले ४.५५ प्रतिशत ब्याज दिनेछन् ।
यस्तै, आगामी महिना माघमा व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल बैंकले ५.१० प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, सिद्धार्थ बैंकले ४.५५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत र एनआईसी एशिया बैंकले ५ प्रतिशत ब्याजदर दिनेछन् ।
यता, प्राइम कमर्सियल बैंकले भने माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ब्याजदर बढाएर ४.४० प्रतिशतमा पुर्याएको छ । पुसमा व्यक्तिगततर्फ ४.२५ प्रतिशत ब्याज दिएको थियो ।




































