काठमाडौं । प्रहरीले गुण्डा नाइके जसवन्त राई भन्ने अश्विनकुमार राईलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले राईलाई शनिबार कलंकी क्षेत्रबाट पक्राउ गरेको हो ।
राईको साथबाट प्रहरीले पेस्तोल समेत बरामद गरेको छ । विभिन्न आपराधिक गतिविधिमा संलग्न राईसित हतियार रहेको सूचनाका आधारमा प्रहरी टोली उनको खोजीमा थियो ।
उनी कलंकी क्षेत्रमा रहेको सूचनाका आधारमा प्रहरीले शुक्रबार (पुस ११) रातिदेखि नै ‘अपरेसन’ चलाएको थियो । शनिबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खोटाङका स्थायी बासिन्दा राई यसअघि समेत पटक–पकट पक्राउ परेर छुटेका थिए । राईको साथबाट बरामद हतियारबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी रमेश थापाले बताए ।
०७३ सालमा तत्कालीन अपराध महाशाखाको टोलीले राईमाथि गोली प्रहार गरेको थियो । काठमाडौंको बिजुलीबजारमा उनीमाथि प्रहरीले गोली हानेको थियो । दुई गोली लागेका उनी घाइते भएका थिए ।
त्यति बेला उनी चढेको मोटरसाइकल रोकेर नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै रड प्रहार गरेका थिए । तिघ्रामा दुई गोली लागेर ढलेका राईलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो । उपचारपश्चात् उनी स्वस्थ भएका थिए ।
प्रहरीका अनुसार, राई कंलकी, बाफल क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन् । उनी हाल जेलमा रहेका गुन्डा नाइके समीरमान सिंह बस्नेतका सहयोगी समेत हुन् ।
उनले दर्जनौँ सार्वजनिक अपराध र पाँचभन्दा बढी ज्यान मुद्दा खेपिसकेका छन् ।
यस्तो छ अपराधिक गतिविधि
१) ०७२ मा कलंकीस्थित स्काई प्यालेस डान्सबारमा विश्वास सल्यानी र सुमित रेग्मीमाथि तरबार र बोतल प्रहार गरी लुटपाट
२) ०७२ साउनमा राईकै समूहले कालीमाटीस्थित मनकामना माई यातायात प्रालिका सञ्चालक पञ्कजबहादुर शाहीमाथि खुकुरी प्रहार गरी लुटपाट गरेको
३) ०७६ मा उनी लागुऔषधसहित पक्राउ परेको
४) राईले प्रहरीको ‘इन्कान्टर’मा मारिएका नुवाकोटका गुन्डा नाइके कुमार श्रेष्ठ उर्फ कुमार घैँटेका सहयोगी भएर समेत व्यवसायीलाई धम्क्याउने गरेको





































