काठमाडौं । दक्षिणकाली नगरपालिकाले सार्वजनिक गरेको लोगो विवादमा परेको छ । कार्यपालिकाबाट पास नभइ नगरपालिकाले लोगो सार्वजनिक गरेपछि कार्यपालिका सदस्यहरुले नै विरोध जनाएका छन् । कानुनी प्रक्रियालाई मिचेर आफ्नो स्वार्थ अनुसार लोगो सार्वजनिक गरिएको एक कार्यपालिका सदस्यले आरोप लगाएका छन् ।
‘नगरसभाबाट लोगो बनाएर छनोट हुनेलाई २५ हजार रुपैयाँ दिने निर्णयसहित सूचना जारी भएको थियो,’ ती सदस्यले भने, ‘बिना प्रतिस्पर्धा विज्ञको नाममा नगरपालिकाको लोगो सार्वजनिक गरेको छ । कार्यपालिकाबाट पनि पास भएको छैन । यसको हामीले विरोध गरेका छौं ।’
यस्तै नगरपालिकाका सूचना अधिकारी गिरीराज खनालले लोगो रायका लागि मात्रै सार्वजनिक गरेको बताएका छन् ।
‘विभिन्न ठाउँबाट लोगो आएका थिए, हामीले विज्ञबाट यो लोगो छनोट गरेको हौं,’ उनले भने, ‘केही त्रुटि भए सच्चाउन र राय सल्लाहका लागि सार्वजनिक गरेको हो, कार्यपालिकाले पास गरेको हैन ।’ उनका अनुसार राय सल्लाहपछि कार्यपालिकामा लगेर लोगो पास गराउने तयारी भइरहेको छ ।




































