काठमाडौं । नेकपा माओवादी केन्द्रसँग एकताको तयारी चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका नेताहरुमा असन्तुष्टि चुलिएकाे छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंमा तीन दिनदेखि जारी तेस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकमा बहुमतमार्फत् माओवादीसँग मिल्ने निर्णय गर्न लागेपछि नेताहरू विद्रोहका लागि तयार भएका हुन् । पार्टीमा अध्यक्ष नेपाल लगायतका नेताहरूले सम्मानजनक बिदा हुनुपर्ने बताइरहेको अवस्थामा माओवादीसँग एकता भए विपक्षमा उभिने बताएका हुन् ।
बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकमा ३२ जना नेताहरूले धारणा राखेका थिए। जसमा २१ जना नेताहरूले पार्टी एकीकृत गरेर अगाडि जानुपर्ने माग राखे । नेताहरूका अनुसार २८ जना नेता माओवादीसँग एकता गर्ने विपक्षमा थिए।
सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र स्थायी कमिटी सदस्य लक्ष्मण लम्साल लगायतका नेताले नेपालले माओवादीसँग पार्टी मिलाए विद्रोह गर्ने चेतावनी दिए
लम्सालले माधव नेपाल र झलनाथ खनालले नै पार्टीबाट सम्मानजनक बिदा लिएर दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग राखे ।
पार्टी केन्द्रीय सदस्य तथा अनेरास्ववियूकी पूर्वअध्यक्ष आरती लामाले इतिहासले फेरि नयाँ मोड लिने संकेत गर्दै समाजवादी माओवादीसँग मिले नयाँ धार सोच्ने बताएकी छन् ।
एकताको विपक्षमा यी नेता
झलनाथ खनाल, सम्मानित नेता
घनेन्द्र बस्नेत, वरिष्ठ नेता
घनश्याम भुसाल, महासचिव
विजय पौडेल, स्थायी कमिटी सदस्य
रामकुमारी झाँक्री, स्थायी कमिटी सदस्य
जीवनराम श्रेष्ठ, स्थायी कमिटी सदस्य
लक्ष्मण लम्साल, पोलिटब्युरो सदस्य
अब्दुल हुसैन, पोलिटब्युरो सदस्य
अशेष घिमिरे, पोलिटब्युरो सदस्य
दामोदर अर्याल, पोलिटब्युरो सदस्य
धर्म निरौला, पोलिटब्युरो सदस्य
महेश रेग्मी, पोलिटब्युरो सदस्य
आरती लामा, केन्द्रीय सदस्य




































