काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा नेपाल र कतार बीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढिकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमती भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए ।
उनले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) दुवै देशबीच व्यापार तथा लगानी प्रवद्र्धनको महत्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिम रूप दिनुपर्नेमा जोड दिए ।
नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त अवसरहरू रहेकोले कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । “ नेपालमा धेरै क्षेत्रमा लगानीको अवसर छ । म कतारी लगानीकर्ताहरुलाई जलविद्युत, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानीको लागि आग्रह गर्दछु ” उनले भने । ढकालले महासंघले अघि बढाइरहेको डिजिटल रूपान्तरणलाई जोड दिँदै यस क्षेत्रमा कतार चेम्बरसँगको सहकार्य महत्वपूर्ण हुने उल्लेख गरे ।
उनले एआई–आधारित व्यवसायिक सुविधा उपकरण, ब्लकचेन–आधारित व्यापार कागजीकरण प्रणाली, तथा व्यवसाय मिलान र लगानी प्रवद्र्धनका लागि डिजिटल प्लेटफर्महरूमा ज्ञान आदानप्रदान गर्ने प्रस्ताव गरे। “उन्नत डिजिटल प्रविधि अपनाउने कतारको अनुभवबाट पाएको तपाईंहरूको समर्थनले महासंघलाई आधुनिक, प्रविधि–मैत्री संस्था बनाउन अमूल्य सहयोग पु¥याउनेछ” उनले भने ।























