रुपन्देही । नवलपुरको दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग आज बिहानबाट अवरुद्ध बनेको छ । अहिले बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
वैकल्पिक मार्गको रूपमा सञ्चालन गरिएको विनयी त्रिवेणी ३ स्थित खरङ्गे खोलामा वर्षातको कारण पानीको बहाव बढ्न गई सडक अवरुद्ध भएको हो ।
खोलामा पानीको बहाव बढेपछि खरङ्गे खोलामा कुनै पनि सवारी साधन पास हुन नसकेको हो । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड पछिल्लो १५ दिनयता राम्ररी सञ्चालनमा आउन सकेको छैन ।
दैनिक जसो सडक अवरुद्ध हुने गरेको छ । दुम्किबासको विनयी खोलामा बनाएको डाइभर्सन पनि बगाएपछि समस्या आइरहेको छ ।
पाल्पा लगायत नवलपुरका पहाडी क्षेत्रमा पानी पर्नासाथ दुम्किबासको विनयी खोला र त्यसका आसपासका सहायक नदीहरूमा पानीको बहाव बढ्ने गरेको छ ।
पछिल्लो दुई दिन घाम लागेका कारण यस सडक खण्डको दाउन्ने र दुम्किबासमा यात्रा केही सहज भए पनि रातिदेखि परेको पानीले पुन असहज भएको छ ।
दुम्किबासको विनयी खोलामा पुल भाँचिएको करिब ६ महिना पुगिसक्दा पनि यहाँ नयाँ पुल निर्माण कार्यले अझै पूर्णता पाउन सकेको छैन ।
दुम्किबासको विनयी खोलामा डाइभर्सन नबन्दा र पुल निर्माण कार्य नसकिएका कारण यो बाटो भएर सञ्चालन हुने सयौँ सवारी साधनहरू दुम्किबास–सर्दी–होङसी गेट आउने २८ किलोमिटर बढी यात्रा गर्न बाध्य छन् । उक्त बाटो पनि आज विहानदेखि अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।
यता दुम्किबासको विनयी खोलामा पुल निर्माणको काम सकिएको आज २२ दिन कटेको छ तर पनि यो पुल तत्काल खोल्ने पक्षमा बुटवल नारायणगढ सडक विस्तार गरिरहेको ठेकेदार पक्ष चाइना स्टेट कम्पनी देखिएको छैन ।
असार १४ गते सञ्चालनमा ल्याइने भनेको पुल असार १५ सम्म पनि सञ्चालनमा ल्याइएको छैन । विनयी खोलामा बनेको नयाँ पुल छिटोमा असार २० सम्म सञ्चालनमा ल्याइने पक्षमा ठेकेडार पक्ष चाइना स्टेट कम्पनी देखिएका छन् ।
चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाले असार २० भन्दा अगाडि पुल सञ्चालनमा आउने कुनै सम्भावना नरहेको बताए ।