बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन्।
प्रदेश सभाको बुधबारको कार्यसूचीमा उनी पदमुक्त भएको जानकारी उल्लेख छ। कार्यसूचीको दुई नम्बरमा भनिएको छ,’माननीय प्रदेशसभा सदस्य श्री गीता गुरुङको प्रदेशसभा सदस्य पदको स्थान रिक्त भएको सूचना माननीय सभामुखले सभालाई जानकारी गराउँनु हुने।’
श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङले वैशाख ३० गते राजीनामा दिएको जानकारी गराएका थिए। गीताले इमेलमार्फत राजीनामा पठाएकी थिइन्।
पछिल्लो समय बेलायत बस्दै आएकी उनी लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि संविधान र नियमावलीअनुसार पद रिक्त भएको घोषणा गरिएको हो। उनी समानुपातिक सांसद हुन्।





























