काठमाडौं । देशभरमा ७ सय ५३ स्थानीयतहसहित ७ सय ६१ सरकारमध्ये काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका शुन्य बेरुजी भएको गाउँपालिका भेटिएको छ ।
महालेखा परीक्षक कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार यो गाउँपालिकाको बेरुजु एक रुपैयाँ पनि छैन। गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा निरन्तर प्रयासबाट शून्य बेरुजु बनाउन सफल भएको बताउँछन्।
कुनै दबाब र प्रभावमा होइन योजनाबद्ध रूपमा गरेका कामको मात्रै भुक्तानी गर्ने प्रणाली बसालेको कारणले शून्य बेरुजु भएको उनले बताए।
‘नियमसंगत फाइलको मात्रै अगाडि बढायौं, नियम संगत नभएका कामलाई तुरुन्तै नियन्त्रणमा लिने काम गर्यौं, यसको फलस्वरूप हामी शून्य बेरुजु हुन सफल भयौ,’ उनले भने।
गत वर्ष महाभारतसहित पाँचवटा स्थानीय तहको शून्य बेरुजु थियो तर योपटक भने अरुले शून्य बेरुजुलाई कायम राख्न सकेनन्। गत वर्ष ताप्लेजुङको पाथिभरा याङवर गाउँपालिका, पाँचथरको याङवरक गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा पनि बेरुजु शून्य थियो।
अध्यक्ष जिम्बाले यो वर्षमात्रै होइन विगतमा र भविष्यमा पनि शून्य बेरुजु नहुने गरी योजना बनाएर काम गरिरहेको बताए। नयाँ योजना होइन, भइरहेका योजनालाई निरन्तर फलो गरेर यो अवस्था आएको उनको भनाइ छ।