काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिमाथि असन्तुष्ट व्यक्त गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ।
परिषद्ले शुक्रबार ७ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको हो। जसमा शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य हुनुपर्ने, हालसम्मका सहमति कार्यान्वयन हुनुपर्ने, विद्यालय कर्मचारीको विरामी विदा संचित गराउनुपर्ने, तलवमान कायम गर्नुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भक्ता दिनुपर्ने लगायत छन्।
शिक्षक महासंघको अगुवाइमा भएको शिक्षकको आन्दोलन २९ दिनपछि शिक्षा मन्त्रालय र महासंघका पदाधिकारीबीच वैशाख १७ गते ९ बुँदेसहित भएपछि स्थगित भएको थियो। परिषद्ले महासंघको नेतृत्वले विद्यालय कर्मचारीलाई सडकमै बिना सूचना छाडिदिएको भन्दै आपत्ति जनाएको थियो। परिषद्ले आन्दोलन बब्बन मिश्राको संयोजकत्वमा परिचालन समिति समेत गठन गरेको छ।
कर्मचारीले जेठ ३ गतेसम्म कार्यकक्षमै कालोपट्टी बाधेर काम गर्नेछन्। त्यस्तै जेठ ४ गते सबै पालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनबारे जानकारी दिइनेछ। जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्नेछ। त्यस्तै जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाइने छ।
जेठ ७ गते ७ ओटै प्रदेशमाको सामाजिक बिकास मन्त्रालयमा आन्दोलनबारे ध्यानाकर्षपत्र बुझाइनेछ। र, जेठ ९ गतेदेखि काठमाडौँको माइतीघर मण्डलाकेन्द्रित सडक आन्दोलन हुनेछ।































