काठमाडौं । गृह मन्त्रालयले ७ सहसचिवको सरुवा तथा पदस्पथापन गरेको छ । बिहीबार गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा जिम्मेवारी बिहिन रहेका २२ सहसचिवमध्ये ५ सहसचिवको पदस्थापन र २ सहसचिवको सरुवा गर्ने निर्णय गरेका हुन् । जसमा मन्त्रालयको बरण्डामा रहेका ५ सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पदस्थापन तथा सरुवा गरिएका छन् ।
जसमा भर्खरै मात्रै मन्त्रिपरिषद्को बैठकबाट गृह मन्त्रालयमा सरुवा भएर आएका सहसचिव धर्मराज जोशी बाँके, दिव्यराज खड्का संखुवासभा, नरहरि घिमिरे खोटाङ, विजयराज सुवेदी ओखलढुंगा र शशिधर घिमिरे नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका छन् ।
यस्तै सहसचिव बिनोदकुमार खड्का संखुवासभाको प्रमुख जिल्ला अधिकारीबाट रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका छन् भने नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी मन्त्रालय तानिएका छन् ।
