दिनेश शर्मा, बुर्तिबाङ । इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट प्रवाह हुने सेवाहरू ठप्प भएको छ । इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख (शाखा अधिकृत) लोकबहादुर कुँवरको अनिवार्य अवकासपछि मंगलबारबाट सेवाहरु ठप्प भएका हुन् । गृहमन्त्रालय अन्तर्गत रहेको इलाका प्रशासन कार्यालय बुर्तिबाङमा शाखा अधिकृत स्तरको कर्मचारी नहुँदा नागरिकलाइ प्रदान गरिने सेवाहरू ठप्प भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
‘मैले बारम्बार लिखित र मौखिक रूपमा कर्मचारी व्यवस्थापनका लागि गृहमन्त्रालयमा भनेको छु,’ उनले भने ‘हालसम्म सिनियर सुब्बा अथवा शाखा अधिकृत स्तरकाे कर्मचारी व्यवस्थापन नहुँदा सेवा ग्राहीहरू बागलुङ बजारमा आउन बाध्य भएका छन् ।’
सरकारले बागलुङको पश्चिमी क्षेत्रमा रहेको इलाका प्रशासन कार्यालयलाई खासै महत्व नदिँदा कर्मचारी अभाव झेल्दै आएको उनको भनाइ छ ।
‘कर्मचारीको व्यवस्थापनका लागि केही दिनदेखि मैले मन्त्रालयदेखि सांसदहरूसँग पनि कुरा गरिरहेको छु,’ प्रमुख जिल्ला अधिकारीले भने, ‘त्यहाँ कर्मचारी व्यवस्थापन गर्न नसक्दा स्थानीयहरू सेवाबाट वञ्चित भएका छन् ।’ सेवा कहिलेदेखि शुरू हुन्छ भन्ने विषयमा एकिन भन्न नसकिने उनकाे भनाइ छ ।
२०५४ सालदेखि सञ्चालनमा आएको इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानगाउँपालिका र बडिगाड गाउँपालिकाका ३२ वटाका नागरिकहरूले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायतका सेवाहरु लिँदै आएका छन् । इलाका प्रशासन कार्यालयमा एक जना शाखा अधिकृत र नायब सुब्बाको दरबन्दी छ ।
सरकारले खटाएका कर्मचारी केही समय आउने र कोही नआइ सत्ता र शक्तिको प्रयोगले अन्य ठाउँमा सरुवा भएर जाने हुँदा कर्मचारी अभाव झेल्दै आएको अवकास पाइसकेका पूर्वकार्यालय प्रमुख लोकबहादुर कुँवरको भनाइ छ ।
‘सोमबारदेखि मेरो अनिवार्य अवकास भएपछि सेवाहरू ठप्प भएका छन्,’ कुँवरले न्यूज खरीसँग भने, ‘नागरिकता, राहदानीलगायतका सेवाहरु ठप्प भएका छन् यसमा सरकारले चाँडै ध्यान दिनुपर्छ ।’







































