काठमाडौं । नेपालमा बिहीबार अपराह्नदेखि इन्टरनेट सेवा प्रभावित भएको छ । भारतबाटै ब्यान्डविथ आपूर्ति रोकिँदा देशभर इन्टरनेट सेवा प्रभावित भएको हो । जसका कारण करिब ८० लाख हाराहारीमा ग्राहक प्रभावित भएका छन् ।
इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ बापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा रोक्दा यो समस्या आएको बताइएको छ । समयमै तीन अर्ब रुपैयाँ भुक्तनी हुन नसक्दा नेपाललाई अन्तर्राष्ट्रिय ब्यान्डविथ बेचिरहेका भारतीय कम्पनी एयरटेलले ब्यान्डविथ आपूर्ति बन्द गरिदिएको हो ।
जसका कारण मुख्य इन्टरनेट सेवाप्रदायक कम्पनीहरु वर्ल्डलिंक, सुबिसु, भायानेट, सीजी लगायतका कम्पनीका इन्टरनेट सेवामा डिस्टर्ब देखिइरहेको छ। कतिपय स्थानमा इन्टरनेट नै चलेका छैनन् भने चलेका ठाउँमा पनि गति सुस्त छ ।
वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले नेपाललाई अन्तर्राष्ट्रिय ब्यान्डविथ बेचिरहेका भारतीय कम्पनी एयरटेलले एक्कासी आपूर्ति रोकेको बताए । वर्ल्डलिंकले सेवा प्रवाहमा भएको समस्याप्रति ग्राहकसँग एक विज्ञप्तिमार्फत क्षमायाचना गरेको छ ।
उसो त नेपाल दूरसञ्चार प्राधिकरणले पटक–पटक सञ्चार मन्त्रालयलाई पत्र लेखेर इन्टरनेट विदेशी मुद्रा सटही सुविधा दिन आग्रह गर्दै आएको थियो । तर मन्त्रालयले इन्टरनेट मर्मत सम्भारको शुल्कमा रोयल्टी र आरटीडीएफ दस्तुरको विवादलाई कारण देखाएर अवरोध गर्दै आएको थियो । भारतीय कम्पनीको निर्णयले नेपाल टेलिकम र अन्य केही साना इन्टरनेट कम्पनीबाहेकका सेवा प्रभावित बनेको हो।
इन्टरनेट सेवा प्रदायकले केही दिनअघि पत्रकार सम्मेलन नै गरेर इन्टरनेटमा जुनसुकै बेला समस्या आउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।