काठमाडौं । काठमाडौंमा फेरि कोरोना संक्रमण पुष्टि भएको छ । तर, नेपालमा पछिल्ला तीन महिनायता फाट्टफुट्ट कोरोना संक्रमित देखिइरहेकाले नौलो नठान्न र नआत्तिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हाल देशभर कोरोनाका १३ सक्रिय संक्रमित रहेका जानकारी दिए । उनीहरू सबै काठमाडौंमै रहेका उनको भनाइ छ ।
उनका अनुसार भारतमा जबदेखि जेएन १ देखियो, नेपालमा पनि फाट्टफुट्ट संक्रमित देखिइरहेकाले आत्तिइहाल्नुपर्ने अवस्था छैन । भारतमा डिसेम्बर अन्तिम सातादेखि ओमिक्रोन भेरियन्टको उपप्रजाति जेएन.१ फैलिएको थियो ।
उनका अनुसार, भारतसँगको सीमा क्षेत्रमा डिसेम्बर अन्तिम सातायता दैनिक चारदेखि १५ जनासम्ममा कोरोना संक्रमण पुष्टि भइरहेको थियो । पछिल्लो साता भने काठमाडौंमा १३ सक्रिय संक्रमित भेटिएका हुन् । अरू स्थानमा संक्रमित नरहेका उनले बताए ।