रमा क्षेत्री, बागलुङ । बागलुडको ढोरपाटन नगरपालिकाको एक विद्यालयमा विद्यार्थीको छात्रवृत्तिलगायतको रकममा अनियमितता गरेकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
विद्यालयको सामाजिक परीक्षण, विद्यार्थीको छात्रवृत्ति, प्राविधिक सिप विकास तथा विद्यालय सुधार योजनाको रकममा विद्यालयकी प्रध्यानध्यापक भिमकुमारी भण्डारी थापाले अनियमितता गरेको भन्दै उनीविरूद्ध उजुरी परेको हो ।
न्यूज खरीलाई प्राप्त विवरणअनुसार ढोरपाटन नगरपालिका ६ मा रहेको विद्या विकास माध्यमिक विद्यालयकी प्रअ भण्डारीले नेपाल बैंकको शाखा कार्यालय बुर्तिबाङबाट निकाशा गरेको र भुक्तानी दिएको रकम बैंकको स्टेटमेन्टसँग मिल्दो जुल्दो नभएको पाइएको छ ।
स्रोतका अनुसार २०७७ असार १९ गते विद्यालयको सामाजिक परीक्षणका लागि निकाशा गरिएको ३५ हजार रकम सामाजिक परीक्षण नै नगरी प्रअले नै राखेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरामा दिएको उजुरीअनुसार प्रअ भण्डारीले आवासीय छात्रवृत्तिकाका लागि ५१ हजार ६ सय रुपैयाँ निकाशा गरी १०८ जना विद्यार्थीलाई ४ सयका दरले ४३ हजार २ सय वितरण गरेपनि बाँकी रहेको ८ हजार ४ सय अनियमितता गरेको उल्लेख छ ।
साथै, आर्थिक वर्ष ०७८।०७९को आवासीय छात्रवृत्तिको ५६ हजार ८ सय निकाशा भएकोमा विद्यार्थीहरुलाई जम्मा ५० हजार ८ सय वितरण गरी बाँकी ६ हजार ८ सय रकम आफैले राखेकाे उजुरीमा लेखिएको छ । प्राविधिक सीप विकास तथा विद्यालय सुधार योजनाको नाममा ०७९-३-१२ गते आएको ४६ हजार निकाशा गरी आफैं प्रध्यानध्यापक भण्डारीले नै राखेर विद्यालयलाई हिसाब किताब नदेखाएको उजुरीमा छ ।
अभिभावक संघका पदाधिकारीका अनुसार शैक्षिक सत्र ०७९ मा फर्जी विद्यार्थी देखाई ढाेरपाटन नगरपालिकाबाट पाठ्यपुस्तकको लागि रकम निकाशा गरी हालसम्म पाठ्यपुस्तक खरिद नगरिएको बताइएकाे छ ।
साथै, विद्यालय व्यवस्थापन समिति गठन नगरी प्रअले आफूखूसी रकम हिनामिना गरेको भन्दै भ्रष्टाचार ऐन, २०५९ को कसुरमाथि कारबाहीका लागि अभिभावक संघले उजुरी दिएको हो ।
उजुरीमाथि अनुसन्धान भइरहेको र यसै हप्ता प्रअ भण्डारीलाई बोलाइएको अख्तियार दुरुपयोग कार्यालय पोखराले जनाएको छ ।

उता विद्यालयकी प्रअ भण्डारीले २०७८ सालमा वितरण गरि बाँकी रहेका छात्रवृत्तिको रकम २०७९ फागुन १७ गते पालिकाको खातामा फिर्ता गरेको बताएकी छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट परेको ४ कोठे भवन निर्माणमा रकम निकाशा ढिला हुँदा घेराबारमा परेको ८ लाख र विद्यालयको खातामा रहेको रकम कामदारलाई बुझाएको बताएकी छिन् ।
शैक्षिक सुधारको रकम निकाशापछि कामदारलाई बुझाएको रकम विद्यालयको खातामा जम्मा गरेको न्यूज खरीलाई जानकारी दिइन् । तर बैंक स्टेटमेन्टमा भने त्यसो देखिएको छैन ।
२०७५ सालमा अमरबहादुर बुढा मगर प्रअबाट निस्केपछि विद्यालयकी लेखापाल उजेली पुन थापा र हालकी प्रअ भीमकुमारी भण्डारी थापाले नेतृत्व गर्दै आएका थिए । भण्डारी र पुनको नाममा अहिले पनि बैंक खाता सञ्चालनमा छ ।

































