बुर्तिबाङ । ढोरपाटन नगरपालिकाको नगर प्रमुखका उम्मेदवार चन्द्रलाल अर्याले सही नेतृत्व नहुँदा नगरको विकाश हुन नसकेको बताएका छन् । ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनाममा मतदाता भेटघाट कार्यक्रममा बोल्दै अर्यालले सही नेतृत्व नहुँदा ढोरपाटन नगरमा विकास हुन नसकेको बताएका हुन् ।
‘गाउँ–गाउँमा खानेपानीको समस्या छ,मिहिनेत गर्ने कृषकको पहिचान र उनीहरुलाई कुनै सहयोग भएको छैन, सडकको उत्तिकै समस्या छ स्वास्थ्य शिक्षा, प्रर्यटन प्रर्वधन लगाएतका विभिन्न समस्या छन्,’ उनले भने ‘सही नेतृत्व नआउँदा ढोरपाटन नगरपालिका पछि पर्यो, अब समृद्ध र विकास चाहने हो भने ढोरपाटनवासीले गठबन्धनलाई जिताउन जरुरी छ ।’
उनले आफूले जिते खानीपानीको समस्या भएको स्थानमा एक घर एक खानेपानी आयोजना अघि बढाउने, कृषकलाई उत्पादन मुलक कार्यक्रममा प्रोत्साहन गर्ने, कृषि ऋण तथा अनुदानका कार्यक्रम अगाडी बढाउने, कृषि उत्पादन बजारीकरणको प्रबन्ध गर्ने र सामुदायिक विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था गर्ने बताए ।
उनले युवाकेन्द्रित स्वरोजगार मुलक कार्यक्रमलाई जोड दिने महिलालाई उद्यमशील कार्यमा प्रोत्साहन गर्ने, तथा नयाँ शहरी आयोजनासँग समन्वय गरेर विभिन्न विकासका पूर्वाधारलाई अगाडी बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उपमेरका उम्मेदवार धनबहादुर कायतले अघिल्लो नेतृत्वले राम्रो परिणाम दिने काम गर्न नसकेको भन्दै पारदर्शीता, भ्रष्ट्राचार मुक्त र जनताको सरकार रहेको अनुभूति हुने गरी आफुहरुले काम गर्ने प्रतिबद्धता जनाए ।
वडा नम्बर २ का अध्यक्षका उम्मेदवार भेगबहादुर खत्रीले यो वडा कृषि क्षेत्रमा निकै सम्भावना बोकेको भन्दै कृषि क्षेत्रको प्रवद्धर्न, बजारीकरण, उत्पादन र व्यवसायिकतालाई थप व्यवस्थापन गर्ने बताए । कार्यक्रममा पाँचदलीय गठबन्धनका उम्मेदवार, विभिन्न राजनैतिक दलका नेता तुल्सीराम अर्याल, दधिराम अर्याल, मेशलाल सर्मा, गौरीश्वर पाण्डे, लगाएतको उपस्थिती रहेको थियो ।









































