काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा जारी निषेधाज्ञाको अवधि थप गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसअघि बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको थियो । प्रशासनका अनुसार पूर्वमा प्रतिमा चोकदेखि बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ ।
प्रशासनले तोकिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य भीडभाडका गतिविधि गर्न रोक लगाएको छ । आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।
यसैबीच, शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा सर्वपक्षीय तथा सर्वदलीय सद्भाव र्याली निकालिएको थियो । तर र्याली सम्पन्न भएको केही समयपछि आन्दोलनकारीहरूले विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।
वीरगन्जको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै शान्ति–सुरक्षा कायम गर्न निषेधाज्ञाको अवधि थप गरिएको प्रशासनले जनाएको छ ।




































