काठमाडौं । पाकिस्तानमा गएको हिम पहिरोमा परेर नेपालका प्रख्यात पर्वतारोही निर्मल पुर्जा पनि सम्पर्क बिहीन भएका छन् । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोपछि बेपत्ता भएको आशंका गरिएका १० जना पर्वतारोहीमा एकजना नेपाली पर्वतारोही पुर्जा पनि रहेका बीबीसीले जनाएको छ।
चर्चित पर्वतारोही पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोही टोली हिम पहिरोमा परेर बिहीबारदेखि बेपत्ता भएको हो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर (२६,४०० फिट) अग्लो हिमालमा बिहीबार दिउँसो हिमपहिरो गएको थियो। त्यसयता उक्त टोलीसँग कुनै सम्पर्क हुन नसकेको त्यहाँका अधिकारीहरूले जनाएका छन्।
उक्त आरोहण दलमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिकहरू रहेको बताइएको छ । अभियानका नेतृत्वकर्ता पुर्जाले सन् २०१९ मा ६ महिनामा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालको सफल आरोहण गरेर चर्चामा आएका थिए।
‘हामी सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका छौँ। मौसमको अवस्था हेरेर शुक्रबार बिहान हेलिकप्टरमार्फत उद्धारको व्यवस्था मिलाउने प्रयास गरिरहेका छौँ,’ अल्पाइन क्लब अफ पाकिस्तानका उपाध्यक्ष करार हैदरीले भनेका छन्।
ब्रोड पिकलाई आरोहणका लागि निकै चुनौतीपूर्ण हिमालहरूमध्ये एक मानिन्छ। यो विश्वको १२औँ अग्लो हिमाल हो। अल्पाइन क्लब अफ पाकिस्तानले उपलब्ध सबै स्रोतसाधनहरू यथाशीघ्र परिचालन गरेर बेपत्ताहरुको खोजी गर्न निर्देशन दिएको छ। क्लब सबै आरोहीहरूको सुरक्षा र सफल उद्धारका लागि प्रार्थना गरेको छ।
पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ना भएका थिए। उनी सन् २००९ मा ‘रोयल मरिन’बनेका थिए।उनको पर्वतारोहण यात्रा सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पदयात्राबाट सुरु भएको थियो।




































