बुर्तिबाङ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको ७२ लाख रुपैयाँ लगातमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो ।
नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ । गण्डकी प्रदेश सरकारको ६० लाख र गाउँपालिकाको १२ लाख रुपैयाँ लागतमा सडक स्तरोन्नति गरिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँडा मगरले जानकारी दिए ।
बागलुङकै सबैभन्दा विकट मानिने निसेलढोर छ वर्ष अगाडि मात्रै मोटरबाटोले जोडिएको थियो । यसवर्ष सडक फराकिलो, नाली निर्माण र केही ठाउँमा ग्राभेलिङको काम गरिएको उनले बताए ।
आर्थिक वर्ष २०७६/७७ मा ढोरपाटनदेखि निसेलढोर जोडिएको थियो । ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दामाथि सडक भासिने, हिलो हुने हुँदा गाडी नै गुड्न नसक्ने अवस्था थिएन ।
एमएस टीएएस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सले गत १२ कात्तिकमा जिम्मा पाएकामा वैशाख अन्तिम साता काम सकेको बाँठा मगरले बताए । सडक साँघुरो र अप्ठ्यारो हुँदा निसेलढोरमा बर्खाको करिब पाँच महिना सडक ठप्प हुँदै आएको थियो ।



































