काठमाडौं । अटोमोबाइल व्यवसायी तथा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालविरुद्ध नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग, भन्सार छली र आयकर छलीको आरोपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको छ।
एक उजुरीकर्ताले अग्रवालले विगत डेढ दशकदेखि संगठित रूपमा राजस्व छली गर्दै आएको दाबीसहित कारबाहीको माग गर्दै मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएका हुन् ।
उजुरीमा आर्थिक वर्ष २०८०/८१ मा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिले आयात गरेको ‘फोटोन’ ब्रान्डका विद्युतीय (ईभी) गाडीमा ठूलो परिमाणमा भन्सार छली भएको उल्लेख गरिएको छ। तातोपानी भन्सार कार्यालयमार्फत आयात गरिएका ती गाडीहरूमा कम भन्सार लाग्ने वर्ग (१७ सिट क्षमता)मा वर्गीकरण गरी राजस्व छली गरिएको दाबी गरिएको छ ।
भन्सार विभागले गरेको छानबिनमा ६ करोड २२ लाख रुपैयाँभन्दा बढी राजस्व बक्यौता देखिएपछि सो रकम दाखिला गर्न पत्राचार गरेको थियो । तर, अग्रवाल अदालत गएका थिए ।





































