काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरुहट थारुवान अभियन्ताहरूबीच ९ बुँदे सहमति भएको छ । उक्त सहमतिपछि थारु अभियन्ताहरू रास्वपामा समाहित भएका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा सोमबार विशेष कार्यक्रम गरेर थारु अभियन्ताहरू रास्वपामा समाहित भएका हुन् । ९ बुँदे सहमतिपत्रमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल र नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट थारुवान अभियन्ताद्वय लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा सामाजिक न्याय सहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी शक्तिहरू मिलेर नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको उल्लेख छ ।



































