काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि चीन भ्रमणमा जाने भएका छन् । शांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन जान लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।
सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुँदैछ । सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सम्मेलनमा सहभागी हुँदैछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले साइडलाइन भेटवार्ता पनि गर्ने छन् । स्रोतका अनुसार सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी सी र भारतका प्रधानमन्त्री मोदीसँग पनि भेट्ने छन् ।
क्षेत्रीय स्थिरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा एससीओको स्थापना भएको थियो । संगठनमा भारत र चीनसहित १० राष्ट्र सदस्य छन् ।
यसअघि प्रधानमन्त्री ओलीले २०८१ मंसिर १७ देखि २० सम्म चीनको औपचारिक भ्रमण गरेका थिए । प्रधानमन्त्री ओलीले आगामी भदौको अन्तिम साता भारतको औपचारिक भ्रमण गर्ने तयारी भइरहेको छ ।
































