काठमाडौं । समयमा वृत्ति विकास हुन नसक्दा प्रहरीमा रिक्त पदको संख्या चार हजार नाघेको छ । प्रहरीमा इन्सपेक्टर र त्योभन्दा माथिल्लो तहमा मात्र एक सय ५४ पद रिक्त छन् । गृह मन्त्रालयले आइतबार दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरे पनि तल्लो तहमा तत्काल बढुवा हुने सम्भावना न्यून छ ।
हाल प्रशासनतर्फ एक एआइजी, चार डिआइजी, १२ एसएसपी, १२ एसपी, ३७ डिएसपी र २८ इन्सपेक्टर पद रिक्त छन् । प्राविधिकतर्फ एक एआइजी, दुई डिआइजी, १६ एसएसपी, १४ एसपी, ३८ डिएसपी र ६४ इन्सपेक्टरको पद रिक्त छ ।
कतिपय पद महिनौँदेखि रिक्त भए पनि बढुवा हुन सकेको छैन । प्रशासनतर्फको एक एआइजी र एक डिआइजीमा भने आइतबार सिफारिस भएको छ । प्रशासनतर्फ किरण राणा र प्राविधिक (चिकित्सक) तर्फ डा. सुन्दरकुमार होजूको बढुवा सिफारिस भएको हो ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि प्रहरीमा २१ असोजसम्म कार्यसम्पादन मूल्यांकनको फाराम बुझाउने अवधि हुने भएकाले बढुवा गर्न समस्या हुने गरेको छ । तर, त्यो अवधि पुगेपछि पनि बढुवामा सधैँ विलम्ब हुँदै आएको छ । यो वर्ष पनि त्यस्तै समस्या देखिएको छ । एआइजीमा बढुवा सिफारिस भए पनि तल्लो तहमा तत्काल बढुवा अघि बढ्ने सम्भावना नदेखिएको गृह मन्त्रालय स्रोत बताउँछ । प्रहरीको तल्लो तहमा पनि ठूलो संख्यामा पद रिक्त छ ।
प्रशासनतर्फ वरिष्ठ नायब निरीक्षकमा ३०, प्रहरी नायब निरीक्षकमा एक सय ११, प्रहरी सहनायक निरीक्षकमा दुई सय ९१, प्रहरी वरिष्ठ हवल्दारमा एक सय ५५, प्रहरी हवल्दारमा एक सय १०, प्रहरी सहायक हवल्दारमा ३४, प्रहरी जवानमा दुई हजार पाँच सय ९२ तथा कार्यालय सहयोगीमा ४८ पद रिक्त छन् ।
प्राविधिकतर्फ वरिष्ठ नायब निरीक्षकमा १७, प्रहरी नायब निरीक्षकमा ३०, प्रहरी सहायक निरीक्षकमा ९६, प्रहरी वरिष्ठ हवल्दारमा ३६, प्रहरी हवल्दारमा एक सय ३२, प्रहरी सहायक हवल्दारमा एक सय दुई र प्रहरी जवानमा एक सय १८ पद रिक्त छन् । रिक्त पदमा बढुवा तथा नयाँ भर्नामार्फत पदपूर्तिको तयारी भइरहेको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले बताए ।


































