बागलुङ । बडिगाड गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा नागरिकको उद्धारका लागि स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री पठाएको छ ।
भूकम्पबाट प्रभावित क्षेत्र रुकुम र जाजरकोटलगायतका नागरिकहरुको उपचारका लागि बडिगाड गाउँपालिकाले स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री पठाएको हो ।
प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले गाउँपालिकाले स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पठाएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।
स्वास्थ्य शाखाका प्रमुख बिपेन्द्र केसीको नेतृत्त्वमा डा. कुन्दनकुमार यादव, जनस्वास्थ्य निरिक्षक डिलबहादुर के.सी, हेम पुन, हेल्थ असिस्टेन्ट सुदिप रन्जन यादव लगायत स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोट तर्फ पठाइएको प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिए ।
स्वास्थ्यकर्मीहरुको टोली प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूको उपचारमा सहभागी हुने गाउँपालिकाले जनाएको छ ।
गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशलमव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि लगातार परकम्प आइरहेको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । प्रहरीका अनुसार १ सय ७० जना घाइते भएका छन् ।




































