काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । यस शृङ्खलाको दोस्रो खेलमा यूएईलाई पराजित गर्दै नेपालले आफ्नो ओडीआई मान्यता जोगाइसकेको छ ।
आजको खेलमा नेपाली टोलीमा एक जना परिवर्तन गरिएको छ । आइतबार यूएईविरुद्ध खेलेका गुलशन झाको ठाउँमा आज करण केसी खेल्दैछन् । पीएनजीविरुद्धको आजको खेल र अन्तिम खेलमा यूएईलाई पराजित गरेर नेपाल ओडीआई क्वालिफायर खेल्ने लक्ष्यमा छ ।
३४ खेल खेलेको नेपाल ३६ अंकसहित शीर्ष चारमा छ । सबै खेल खेलिसकेर हाल तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक छ । नेपालले बाँकी सबै खेल जिते ४० अंकसहित शीर्ष तीनमा पर्दै ओडीआई क्वालिफायरका लागि छनोट हुनेछ ।

































