काठमाडाैँ । प्रदेश सभाको पहिलो कार्यकालमा टुंगो नलागेको तत्कालीन प्रदेश १ को नाम एकै दिनमा टुंगो लगाउने ‘कोशी’ को हतारो प्रदेश फेरि अशान्त बन्ने कारण बन्न पुगेको छ।
लामो समय शान्त रहेको तथा बन्द हड्तालको दुष्चक्रबाट मुक्ति पाए झैं भइसकेको पूर्वी नेपाल फेरि तनाव उन्मुख बनेको छ।
प्रदेशको नाम कोशी राखिनु यसको मुख्य निहुँ बनेको छ। लामो समयदेखि पहिचानको आन्दोलन चलेको प्रदेशको नाम नै पहिचानविहीन बनाइएको भन्दै आन्दोलन सुरू भएको हो।
प्रदेश सभाको पहिलो कार्यकालमा नामकरण हुन नसक्नुको मुख्य कारण तत्कालीन नेकपा भित्रको दुईधार थियो। सभ्यता र संस्कृति झल्कने नाम राख्नुपर्छ भन्ने मतमा माओवादी र अहिलेको एकीकृत समाजवादी धार थियो भने कोशीको विकल्प खोज्न नहुने पक्षमा एमाले धार थियो।





































