काठमाडाैं । प्रतिनिधसभा सदस्यसमेत रहेका पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूविरुद्ध झुटो समाचार फैलाइएको दाबी गरेका छन्।
हाल कार्यक्रमको सिलसिलामा स्विट्जरल्यान्डमा रहेका खरेलले बिहीबार सामाजिक सञ्जालमार्फत आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्। उनले आफ्ना विषयमा वास्तविकता खोज्न र सत्य पत्ता लगाउन चुनौतीसमेत दिएका छन्।
‘अहिले ममाथि मिडिया ट्रायल भएको छ। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा फेक न्युज फैलाइएको छ। कृपया भ्रममा नपर्नुहोला’, उनले लेखेका छन्, ‘अहिले म कार्यक्रमको सिलसिलामा स्विट्जरल्यान्डमा छु। गल्ती गरेको छैन। त्यसैले अलिकति पनि डर छैन। सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ। मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ। यस्ता भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ। बाँकी कानुनी उपचार खोज्ने छु।’
सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको अर्बौंको सम्पत्ति बिक्री गरी आपराधिक विश्वासघात गरेको कसुरमा यसका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशी पक्राउ परेपछि यसमा तत्कालीन सञ्चारमन्त्री खरेल पनि जोडिएको आरोप लागिरहेको छ।
































