काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ । बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेका छन् ।
नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरुलाई विशेष ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ । बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरुलाई सम्पूर्ण बैंकिङ सेवाहरु जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरु प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध गराउने छ ।
विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकहरुलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरु उपलब्ध गराउने छ ।
विभिन्न देशमा रहेका नेपालीहरुको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकहरुलाई २४ सै घण्टा सेवा प्रदान गर्नेछ । सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंकले विगत दुई दशकमा विश्वव्यापीरुपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाहरुको विकास तथा विभिन्न १० देशभन्दा बढि देशमा रहेका बैंकका कर्मचारीहरुमार्फत् बैंकिङ सेवाहरु प्राथमिकतामा प्रदान गर्दैआएको छ । विदेशमा रहेका ग्राहकहरुले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोध बिना नेपालमा सहज, झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैंकको बुझाइ रहेको छ ।
विभागको औपचारिक उद्घाटन गर्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी तथा अन्य कामको शिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको र यस नयाँ विभागबाट बैंकले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकि∙ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।





































