काठमाडौं । नेकपा (एमाले)को नेता ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थितल पुगेर पोखरेलले सोमबार अपराह्न उम्मेदवारी दिएका हुन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको बताए।
पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। ‘पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धाको कुरा स्वभाविक हो। हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिष्पर्धा हुन्थ्यो,’ पोखरेलले भने, ‘अहिले जनताको बहुदलीय जनवादद्वारा निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिनुहुदैन।’
पार्टीलाई सहि ढंगले सञ्चालन गर्न आफूले उम्मेदवारी दिएको उनको भनाइ थियो। ‘उम्मेदवारी किन त भन्दा थप राम्रो गर्नको लागि हो। यसमा अरु केही कुरा नै भएन,’ पोखरेलले भने, ‘म चाहीँ पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत, विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउने उद्देश्यसहित आफूले उम्मेदवारी घोषणा गरेको हुँ। म महाधिवेशनका प्रतिनिधि भएर आउनुभएका कार्यकर्ता साथिहरूलाई पार्टीलाई पुर्नव्यवस्थित, सांगठनिक, वैचारिक रुपमा पुर्नव्यवस्थित र नेतृत्वलाई अपडेटेड गर्नुपर्ने आवश्यकता रहेको कुरा आग्रह गर्न चाहन्छु।’
अध्यक्षमा केपी शर्मा ओली पनि उम्मेदवार बन्न लागेका छन्।
निर्वाचन कार्यक्रमअनुसार, आज उम्मेदवारी दर्ता हुनेछ। आजै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ भने भोलि मतदान हुनेछ।




































