काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ।
यसरी धम्कीसहितको पत्र अख्तियारमै प्राप्त भएको र भिडिओसमेत सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको छ। चार दिनअघि जाहेरी प्राप्त भएपछि काठमाडौं प्रहरीसहित विभिन्न युनिटले अनुसन्धान गरिरहेका छन्।
यस्तै धम्कीपूर्ण पत्र पठाउने प्रकाश पाठक भने फिलिपिन्समा रहेको पत्ता लागेको हो। उनका तीन जना सहयोगीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका तीनै जनाले आफूहरू प्रकाशको बडिगार्ड भएको बताएका छन्। तर धम्क्याउने कसुरमा भने संलग्नता नरहेको दाबी उनले गरेका छन्। प्रकाशले अख्तियार प्रमुख राईसहितको ज्यान लिने चेतावनी दिँदै भिडिओ रेकर्ड गराउँदा उनीहरू पनि भिडिओमा देखिएका थिए। सोही आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको दाबी गरेको छ।
आफूलाई उग्रवादी समूह ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’को अध्यक्ष भन्ने पाठकले पठाएको पत्रमा अख्तियार प्रमुख राईसहित १० जनाको ज्यान लिने चेतावनी छ।
उक्त सूचीमा अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा जोडिएका तीन जना पूर्वप्रहरी प्रमुख ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई पनि यस्तो धम्की आएको छ।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पनि चेतावनी दिइएको छ। पाठकले पठाएको पत्रमा कसलाई किन धम्की दिइएको भन्ने कुरा पनि खुलाइएको छ।


































