काठमाडौं । नेपाल प्रिमियर लिगको बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको लक्ष्य दिएको छ।
भीम सार्की र वेन चाल्सवर्थको अर्धशतक सहयोगमा काठमाडौं गोखार्जले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्ससामु जितका लागि १ सय ६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको थियो। योसँगै ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६५ रनको योगफल तयार पा¥यो। काठमाडौंका लागि ओपनर वेनले ६४ रनको सर्वाधिक योगदान दिए। ५४ बलमा ५ चौका र २ छक्का सहयोगमा ६४ रन बनाएका वेन विपिन खत्रीको बलमा धनन्जय लक्षणको हातबाट क्याच आउट हुन पुगे।
वेनले ४८ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरे । भीम सार्की ५५ रन बनाउँदा क्याच आउट भए। २३ बलमा ५ चौका ४ छक्का प्रहार गरेका धनन्जयको बलमा क्याच आउट भए। भिमले १९ बलमा ५ चौका ४ छक्का सहयोगमा अर्धशतक पूरा गरे। करण केसीले ४ रन बनाए। सन्नी पटेल २ रनमा अविजित रहे।
मिलिन्द कुमारले १३ रन बनाउँदा कुशल भुर्तेलको बलमा विकेट किपरको हातबाट आउट हुन पुगे। आदिल आलम र रासिद खानले समान ७ रन बनाउँदै पेभेलियन फर्के। जोन सिमसन २ रन बनाउँदा कुशल भुर्तेलको बलमा कट एण्ड बोल्ड हुन पुगे। आकाश त्रिपाठी शुन्य रनमा नै धनन्जय लक्षणको बलमा बोल्ड आउट भए।
पोखराका लागि धनन्जय लक्षणले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १६ रन खर्चे। कुशल भुर्तेलले २ विकेट लिए। किरण ठगुन्नाले एक विकेट आफ्नो नाममा गरे।
पोखराले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। काठमाडौंले आजको खेलमा जित निकाले प्लेअफमा स्थान पक्का गर्नेछ। पोखराको जितले काठमाडौले अन्य खेलको नतिजा कुर्नुपर्नेछ।



































